स्पेनमा रेल दुर्घटनाले मच्चायो त्रास, कम्तीमा १० जनाको मृ-त्यु


मड्रिड । स्पेनमा दुई रेल आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । बुधबार टोलेडो क्षेत्रमा भएको दुर्घटनामा अन्य यात्रु घाइते भएको आशंका गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि सरकारी अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

प्रारम्भिक विवरणअनुसार, स्पेनको राजधानी म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने उर्दा सहरनजिक दुर्घटना भएको हो । म्याड्रिडबाट देशको दक्षिणी भागतर्फ गइरहेको तीव्र गतिको रेल रोकिराखेको अर्को रेलसँग ठोक्किएको बताइएको छ । ठक्करका कारण कम्तीमा दुई वटा रेलका डिब्बा रेलमार्गबाट तल भिरालो भागमा खसेका छन् ।

दुर्घटनापछि घटनास्थलमा अग्निनियन्त्रक, एम्बुलेन्सकर्मी तथा अन्य आपत्कालीन उद्धारकर्मी परिचालन गरिएको छ । उद्धार कार्यका लागि तीन वटा हेलिकोप्टरसमेत खटाइएको जनाइएको छ । रेलमा फसेका यात्रुको उद्धार तथा घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याउने काम भइरहेको छ ।

दुर्घटनामा परेको एउटा रेलमा सवार यात्रुले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार यात्रा सुरु भएको करिब ४० मिनेटपछि ठूलो ठक्कर लागेको थियो । दुवै रेलमा गरी ५०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले घटनास्थलमा आपत्कालीन सेवाकर्मीहरू राहत तथा उद्धार कार्यमा खटिएको जानकारी दिएका छन् ।

सरकारको प्रारम्भिक आकलनमा रेलको सङ्केत प्रणालीसँग सम्बन्धित मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि, दुर्घटना कसरी भयो भन्नेबारे आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान आवश्यक हुने जनाइएको छ ।