अब सुकुम्बासीलाई आश्वासन होइन, लालपुर्जा दिन्छौँ : मन्त्री रावल


काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी जग्गाको लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्। उनले यसपटक आश्वासनमा मात्रै सीमित नभई भूमिहीन परिवारलाई लालपुर्जा नै उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन्।

सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग भेट गर्दै मन्त्री रावलले लामो समयदेखि जग्गाको स्वामित्व पाउन नसकेका परिवारको समस्या समाधान गर्ने बताइन्।

‘तपाईंहरूलाई जो आउँछन्, आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुन सक्छ,’ उनले भनिन्, ‘ढुक्क हुनुहोस्, यो सरकारले लालपुर्जा दिने हो, आश्वासन होइन।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र नगरप्रमुख राजेन्द्र पोखरेलको उपस्थितिमा मन्त्री रावलले लालपुर्जा वितरणको काम अघि बढिसकेको जानकारी दिँदै त्यसलाई थप तीव्रता दिइने बताइन्।

सो अवसरमा कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मी ओलीले वडाका ५०० परिवार २०१९ सालदेखि बसोबास गर्दै आए पनि अहिलेसम्म जग्गाको लालपुर्जा पाउन नसकेको जानकारी गराएका थिए। लामो समयदेखि बसोबास गर्दै आएका परिवारले जग्गाको कानुनी स्वामित्व नपाएको विषयमा उनले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

मन्त्री रावलले झापाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग भेट गरी लालपुर्जा वितरणको कामलाई तीव्रता दिन निर्देशन दिएकी छन्। उनले सम्बन्धित निकायलाई आवश्यक समन्वय र प्रक्रिया अघि बढाउन आग्रह गरेकी हुन्।

यस क्रममा मन्त्री रावलले दमक नगरपालिका–८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीसँग पनि भेट गरी उनीहरूका गुनासा सुनेकी थिइन्।

सरकारले लालपुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएसँगै लामो समयदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारको समस्या समाधान हुने अपेक्षा गरिएको छ।