काठमाडौं । रोजगारीका लागि जापान पुगेकी र मस्तिष्कघात (स्ट्रोक) का कारण विगत ६ महिनादेखि अस्पतालको शय्यामा रहेकी नेपाली युवती विष्णु कुँवरको उपचारको सम्पूर्ण जिम्मेवारी काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक डा. सुनील कुमार शर्माले लिएका छन्।

आर्थिक अभावका कारण उपचार र स्वदेश फर्किने प्रक्रियासमेत कठिन बनेपछि विष्णुको उद्धार तथा उपचारका लागि डा. शर्माले मानवीय सहयोगको घोषणा गरेका हुन्। उनले विष्णुलाई जापानबाट नेपाल ल्याउनेदेखि केएमसीमा उपचार गरी घर फर्किने अवस्थासम्म लाग्ने सम्पूर्ण खर्च निःशुल्क बेहोर्ने प्रतिबद्धता जनाएका छन्।
जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले विष्णुको अवस्थाबारे जानकारी गराएका थिए। त्यसपछि शर्माले तत्काल नेपाल फर्काउने व्यवस्था मिलाउन आग्रह गर्दै उपचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन्।

डा. शर्माले विष्णुलाई नेपाल ल्याउने क्रममा हवाई टिकटको व्यवस्था गर्न समस्या भए नेपाल वायुसेवा निगमको टिकटसमेत आफैंले किनिदिने बताएका छन्। नेपाल आइपुगेपछि विमानस्थलबाट अस्पतालसम्म ल्याउने, आवश्यक उपचार गर्ने र डिस्चार्ज हुँदासम्मको सम्पूर्ण खर्च केएमसीले बेहोर्ने उनको प्रतिबद्धता छ।
उनले विष्णुको उपचारका लागि केएमसीमा दक्ष चिकित्सक र आवश्यक पूर्वाधार उपलब्ध रहेको उल्लेख गर्दै न्युरो इन्टरभेन्सन सेवासहित चिकित्सा विज्ञानले सम्भव तुल्याएका उपचार निःशुल्क गरिने बताएका छन्।
विष्णु नेपाल आइपुग्ने समयमा आफू काठमाडौंमा भए विमानस्थलमै पुगेर स्वागत गर्ने र नभए चिकित्सकको टोली पठाएर तत्काल अस्पताल पुर्याउने व्यवस्था मिलाउने पनि उनले बताएका छन्।

डा. शर्माको यो घोषणाले ६ महिनादेखि जापानको अस्पतालमा उपचाररत विष्णुलाई स्वदेश फर्किएर परिवारको साथमा उपचार गराउने आशा जगाएको छ। आर्थिक अभावका कारण विदेशमै उपचार र स्वदेश फिर्तीमा कठिनाइ भोगिरहेकी नेपाली युवतीका लागि यो सहयोग मानवीय सेवाको उदाहरण बनेको छ।

















प्रतिक्रिया