काठमाडौं । आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘शुभ विवाह’ को डबिङ कार्य सुरु भएको छ। निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्मको डबिङमा अभिनेता प्रदीप खड्का, अभिनेत्री सनीशा भट्टराईसहित सम्पूर्ण कलाकारहरू व्यस्त छन्।
सुपरहिट फिल्म ‘प्रेम गीत’ पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच लामो समयपछि ‘शुभ विवाह’ मार्फत पुनर्मिलन भएको हो। यस कारण पनि फिल्मलाई दर्शकमाझ चासोका साथ हेरिएको छ।
फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ।
प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्।
फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ तथा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ। साहिल खानले ट्रेलर सम्पादन गरेका छन्।
बुढासुब्बा डिजिटल डिजिटल पार्टनर रहेको फिल्मको वितरण भीष्म फिल्म्स् र श्री राम बालाजीले गर्नेछन्। फागुन २१ गते प्रदर्शनमा आउने फिल्मले दर्शकको कस्तो साथ पाउँछ, त्यो भने प्रतीक्षाको विषय बनेको छ।

















प्रतिक्रिया