काठमाडौं । ‘खुश्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। ‘चाँदी जलप’ गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलरले पनि दर्शकमाझ उत्सुकता बढाएको छ।
गत साता सार्वजनिक भएको फिल्मको ट्रेलर रिलिजको ६ दिनमै झन्डै साढे तीन लाख पटक हेरिएको छ। ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
ट्रेलर हेरेपछि धेरै दर्शकले आफ्नो कलेज जीवन सम्झिएका छन्। कलेज जीवनको प्रेमकथालाई प्राथमिकताका साथ प्रस्तुत गरिएकाले दर्शकहरू नोस्टाल्जिक बनेका हुन्। फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देनको केमेस्ट्रीलाई पनि दर्शकले रुचाएका छन्। यद्यपि, केही दर्शकले उपासनाको जोडीका रूपमा धीरज मगरलाई हेर्न नपाएकोमा अभाव महसुस गरेका छन्।
युट्युब मुभिज ट्रेन्डिङ चार्टमा समेत फिल्मको ट्रेलरले स्थान बनाएको छ। समाचार तयार पार्दासम्म ट्रेलर चौथो स्थानमा रहेको छ। ट्रेलरप्रति देखिएको आकर्षण र गीतसंगीतले पाइरहेको चर्चाले ‘जलाकी’प्रति दर्शकको चासो बढ्दै गएको संकेत गरेको छ।
निर्देशक अशोक थापा मगरकै लेखन तथा सम्पादन रहेको फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै विजय लामा, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, भावना मगर, माओत्से गुरुङ र बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ।
मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्नेछ।

















प्रतिक्रिया