काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको प्रगाढ सम्बन्धले नेपाल र जापानबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् ।
साउथ एसिया फेडेरेसन अफ जापनिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले शिक्षामार्फत स्थापित सम्बन्ध नै दुई देशबीचको सबैभन्दा दिगो र भरपर्दो आधार भएको बताए ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध औपचारिक कूटनीतिभन्दा धेरै पुरानो रहेको स्मरण गरे । सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुची नेपाल आएको र सन् १९०० को प्रारम्भमा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएको ऐतिहासिक घटनाले दुई देशका जनताबीच सम्बन्धको जग बसालेको उनको भनाइ थियो ।
यही ऐतिहासिक आधारमा सन् १९५६ मा नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको उनले बताए ।
नेपालको विकास यात्रामा जापान विश्वासिलो साझेदार रहँदै आएको चर्चा गर्दै मन्त्री खनालले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा जापानले पुर्याएको योगदानको प्रशंसा गरे ।
हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीसँग तुलना गर्दा नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको तथ्यले दुई देशबीचको जनस्तरको सम्बन्ध कति जीवन्त छ भन्ने देखाएको उनले बताए ।
नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी समकक्षी साने ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत ऐक्यबद्धता जनाएको प्रसंग पनि उनले उल्लेख गरे । विपद्का समयमा जापानले पठाएको राहत सामग्री, फरेन्सिक विशेषज्ञता तथा डीएनए पहिचानमा उपलब्ध गराएको प्राविधिक सहयोगप्रति उनले आभार व्यक्त गरे ।
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिएको मन्त्री खनालले बताए । पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईलाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गरेकोमा खुसी व्यक्त गर्दै उनले ‘जेडीएस’ छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती प्रशासन र संस्थागत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
दक्षिण एसियाली क्षेत्र र जापानबीच जलवायु परिवर्तन, प्राकृतिक विपद् व्यवस्थापन, सहरीकरण तथा युवा रोजगारीजस्ता साझा चुनौती रहेको औँल्याउँदै मन्त्री खनालले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई), नवीकरणीय ऊर्जा र आधुनिक इन्जिनियरिङजस्ता उदीयमान प्रविधिमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले साफजुआलाई विश्वविद्यालय, नीतिनिर्माता र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्न आग्रह गरे । नेपाल र जापानबीचको मित्रताको ७० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा आगामी ७० वर्षलाई अझ उपलब्धिमूलक बनाउन शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा लगानी केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

















प्रतिक्रिया