काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिँदैछन् ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा दुवै टोलीलाई जित आवश्यक रहेकाले पहिलो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अंकसहित विराटनगर अंक तालिकाको छैटौँ स्थानमा रहेको छ । यता पोखरा एभेन्जर्सले पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ भने चार खेलमा पराजित भएको छ । दुई अंकसहित पोखरा तालिकाको पुछारमा छ ।
यसैगरी आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
पाँच खेल खेलेको कर्णालीले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अंकसहित कर्णाली अंक तालिकाको सातौँ स्थानमा छ ।
यता लुम्बिनी लायन्स भने तुलनात्मक रूपमा राम्रो अवस्थामा छ । पाँच खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोरेको लुम्बिनीको एक खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । सात अंकसहित लुम्बिनी तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आजको दुवै खेलले अंक तालिकामा टोलीहरूको स्थान सुधार गर्ने अवसर प्रदान गर्नेछ । विशेषगरी विराटनगर र पोखराका लागि जितसँगै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने चुनौती छ भने कर्णाली र लुम्बिनी पनि महत्त्वपूर्ण अंक जोड्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने यस संस्करणको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

















प्रतिक्रिया