धुलिखेल–बनेपा सडकमा दुई बस आपसमा ठोक्किए, २५ यात्रु घाइते


काभ्रे । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको र विपरीत दिशाबाट गइरहेको दुईवटा बस एकआपसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान करिब ११ः४० बजे बनेपा–धुलिखेल सडकखण्डमा बा ५ ख २९७ नम्बरको बस र बा ३ ख ५०६४ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेमध्ये २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पुर्‍याइएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।

शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरूमा काभ्रेको बनेपा नगरपालिका–३ का ५८ वर्षीय दुर्गा सिमथान, बनेपा–५ की २६ वर्षीया उर्मिला महत र उनका ११ वर्षीय छोरा युसन बुर्जा रहेका छन् । त्यस्तै, भुम्लु गाउँपालिका–१ का ४० वर्षीय मनिष पहरी, भुम्लु–५ की ६० वर्षीया कान्छी खरेल तथा धुलिखेल नगरपालिका–८ का १४ वर्षीय असिम पन्त र १० वर्षीया अस्मी पन्त पनि उपचाररत छन् ।

दुर्घटनामा सिन्धुपाल्चोकका विभिन्न स्थानका यात्रुहरू पनि घाइते भएका छन् । सुनकोशी गाउँपालिकाका २० वर्षीया दिपा कुँवर, ४० वर्षीय पाम्देल लामा, २६ वर्षीय अभिनाश खड्का, ४१ वर्षीया संगिता कार्की र उनका ८ वर्षीय छोरा आरोब बुढाथोकी, ३४ वर्षीया आसा सापकोटा, ५० वर्षीय एकबहादुर खत्री तथा ५० वर्षीया कृष्णलक्ष्मी श्रेष्ठको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, लिसंखुपाखर गाउँपालिका–३ का १६ वर्षीय छिरिङ लामा र ४१ वर्षीया राममाया तामाङ, साँगाचोक नगरपालिका–१२ की ४० वर्षीया कल्पना खत्री, खोटाङको दिक्तेलकी ५५ वर्षीया देवकी निरौला, काठमाडौंकी ५५ वर्षीया मानकुमारी शाह तथा सिन्धुलीको हरिहरपुर–४ की ३३ वर्षीया सबिना खड्का पनि सोही अस्पतालमा उपचाररत छन् । घाइतेहरूको टाउको, खुट्टा, अनुहार, दाँत र छातीमा चोट लागेको छ ।

धुलिखेल अस्पतालमा काभ्रेको भुम्लु गाउँपालिका–८ की ३८ वर्षीया सबिना खड्का र १६ वर्षीया सानिया खड्गी, पाँचखाल नगरपालिका–१० का १६ वर्षीय रोहन आचार्य तथा दोलखाको मेलुङ गाउँपालिका–१ की १६ वर्षीया सुनिता थपौलियाको उपचार भइरहेको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको छ ।

दुर्घटनापछि प्रहरीले दुवै बस र तिनका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।