–
काठमाडौं । काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक इभी हाइस मकवानपुरमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित तीन जनाको उद्धार गरिएको छ ।
आज बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा उक्त दुर्घटना भएको हो ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको प्रारम्भिक जानकारी छ ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट दुई बालक र एक पुरुषलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको छ । उद्धार गरिएकामध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी तथा उद्धार टोली घटनास्थलमा परिचालन भएका थिए । दुर्घटनाको कारण र मृतक तथा घाइतेको थप विवरणबारे प्रहरीले अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।

















प्रतिक्रिया