जेलमुक्त भएपछि टोपबहादुरलाई घरमा भव्य स्वागत


रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान कारागारबाट रिहा भएका हुन् ।

रायमाझी बिहीबार बिहान ७ बजे काठमाडौँस्थित डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् । उनलाई लिन पुगेका लिला केसीका अनुसार कारागारबाट रिहा भएपछि रायमाझी सातदोबाटोस्थित आफ्नो निवास पुगेका छन् ।

केही दिन घरमै आराम गरेपछि अर्घाखाँची जाने योजना रहेको केसीले बताएका छन् । अर्घाखाँची स्थायी घर भएका रायमाझी सांसद रहेकै बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको हो । तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए ।

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो ।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई विभिन्न कसुरमा गरी कैद सजाय तथा जरिवाना सुनाएको थियो ।

ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली राजनीतिमा चर्चित ठगी तथा संगठित अपराधको मुद्दामध्ये एक हो । यस प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरूसमेत मुछिएका थिए ।

कारागारबाट रिहा भएर घर पुगेका रायमाझीलाई परिवार तथा आफन्तले टीका र माला लगाएर स्वागत गरेका छन् । उनको रिहाइसँगै आगामी राजनीतिक तथा सार्वजनिक भूमिकाबारे पनि चासो बढेको छ ।