भीमफेदी दुर्घटना : मृतक ईभी चालकको नाम सार्वजनिक


हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका ईभी चालकको पहिचान खुलेको छ। चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेको खुलेको हो।

टिकाथलीबाट छठ पर्व मनाउन गाउँ फर्कँदै गरेका यात्रु सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी बिहीबार बिहान दुर्घटनामा परेको थियो। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी बिहान करिब ५ः४५ बजे सडकबाट करिब ७०० मिटर तल खसेको थियो।

दुर्घटनामा चालक मण्डलसहित १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन्। एक जना घाइतेको नाम भने खुल्न बाँकी छ।

दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन्।