आफ्नै फिल्मलाई शो दिन कन्जुस्याइँ, विदेशीलाई खुलेआम प्राथमिकता


काठमाडौँ । नेपाली चलचित्रले आफ्नै देशका सिनेमाघरमा पर्याप्त शो पाउन पनि संघर्ष गर्नुपर्ने अवस्था देखिएको छ । दर्शकको उत्साहजनक साथ र राम्रो व्यापार गरिरहेको अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ लाई हलहरूले अपेक्षाकृत कम शो दिँदा नेपाली चलचित्रमाथि विभेद भएको भन्दै प्रश्न उठ्न थालेको छ ।

भारतीय चलचित्र ‘रामायण’ को प्रदर्शनसँगै नेपाली चलचित्र ‘बाटुलो जून’ को शो संख्यामा देखिएको असमानताले चलचित्र क्षेत्रको बहसलाई फेरि तताएको छ । दर्शकको राम्रो साथ पाइरहेको नेपाली चलचित्रलाई पर्याप्त शो नदिइएको भन्दै निर्माण पक्षले हल सञ्चालकको व्यवहारप्रति असन्तुष्टि जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले शनिबारका लागि भारतीय चलचित्र ‘रामायण’ लाई ७० शो उपलब्ध गराउँदा ‘बाटुलो जून’ लाई जम्मा २९ शो दिएको छ । एउटै मल्टीप्लेक्स चेनमा दुई चलचित्रबीच देखिएको शो संख्याको यो अन्तरले नेपाली चलचित्रको प्रदर्शन व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

क्युएफएक्समा मात्रै होइन, अन्य सिनेमाघरमा पनि ‘बाटुलो जून’ ले अपेक्षित शो पाउन सकेको छैन । दरबार सिनेम्याक्सले त ‘बाटुलो जून’ लाई जम्मा एक शो दिँदा ‘रामायण’ लाई आठ शो उपलब्ध गराएको छ ।

दर्शकको मागअनुसार शो थपिनुपर्ने अवस्थामा नेपाली चलचित्रलाई सीमित पर्दामा खुम्च्याइएको निर्माण पक्षको गुनासो छ ।

निर्माताको प्रश्न– आफ्नै देशमा नेपाली चलचित्रलाई कहिलेसम्म अन्याय ?

हलहरूबाट अपेक्षित शो नपाएपछि ‘बाटुलो जून’ का निर्माता सरोज न्यौपानेले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने हलहरूले नै स्वदेशी चलचित्रभन्दा हिन्दी चलचित्रलाई प्राथमिकता दिनु न्यायोचित नभएको बताएका छन् ।

‘नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने चलचित्र हलहरूले नै नेपाली चलचित्रभन्दा हिन्दी चलचित्रलाई बढी प्राथमिकता दिनु कत्तिको न्यायसंगत हो ? नेपाली दर्शकहरूको माया र साथले उत्साहजनक यात्रा गरिरहेको ‘बाटुलो जून’ जस्तो चलचित्रलाई पर्याप्त शो नदिनु नेपाली चलचित्रकर्मीहरूको मेहनत, लगानी र सिर्जनाप्रतिको बेवास्ता होइन र ?’ उनले प्रश्न गरेका छन् ।

न्यौपानेले आफूहरू हिन्दी चलचित्रको विरोधमा नरहेको स्पष्ट पार्दै नेपाली चलचित्रले पनि आफ्नै देशमा न्यायोचित अवसर र सम्मान पाउनुपर्ने माग गरेका छन् ।

‘हामी हिन्दी चलचित्रको विरोधमा छैनौँ । तर आफ्नै देशमा नेपाली चलचित्रले पनि न्यायोचित अवसर र सम्मान पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले लेखेका छन् ।

वितरण कम्पनी र हल सञ्चालकबीचको सम्बन्धमाथि पनि प्रश्न

भारतीय चलचित्र ‘रामायण’ लाई नेपालमा एप्पल इन्टरटेनमेन्ट नामक वितरण कम्पनीले ल्याएको बुझिएको छ । उक्त कम्पनीसँग क्युएफएक्स चेनका हल सञ्चालकहरूको नाम जोडिने गरेको दाबी पनि सार्वजनिक चर्चामा छ । यद्यपि यसबारे सम्बन्धित पक्षबाट सार्वजनिक रूपमा पुष्टि भएको छैन ।

यसले चलचित्र वितरण र प्रदर्शन व्यवस्थापनमा स्वार्थको द्वन्द्व हुन सक्ने विषयमा समेत प्रश्न उठाएको छ । तर, यसबारे निष्कर्षमा पुग्न सम्बन्धित कम्पनी र हल सञ्चालकको आधिकारिक धारणा आवश्यक देखिन्छ ।

शो वितरणमा असमानता देखिएको विषयमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

दर्शकको साथ बलियो, शो भने सीमित

अनमोल केसी स्टारर ‘बाटुलो जून’ ले प्रदर्शनको पहिलो दिन नै उत्साहजनक ओपनिङ गरेको थियो । निर्माण पक्षका अनुसार चलचित्रले पहिलो दिन सबैभन्दा ठूलो ओपनिङ गर्ने नन–सिक्वेल नेपाली चलचित्रको रेकर्ड बनाएको छ ।

निर्माण पक्षले चलचित्रले पहिलो दिन करिब डेढ करोड रुपैयाँ हाराहारीको व्यापार गरेको दाबी गरेको छ । दोस्रो दिन पनि चलचित्रका अधिकांश शो हाउसफुल रहेको बताइएको छ ।

दर्शकको राम्रो उपस्थिति र शोहरू भरिभराउ भइरहेका बेला थप शो उपलब्ध गराउनुपर्नेमा उल्टै सीमित शोमा प्रदर्शन गर्नुपरेको निर्माण पक्षको गुनासो छ ।

चलचित्रको माग हुँदाहुँदै पर्याप्त शो नपाउँदा सम्भावित व्यापारमा असर पर्न सक्ने देखिन्छ । दर्शकले टिकट खोज्दा शो उपलब्ध नहुने अवस्था सिर्जना भए त्यसको प्रत्यक्ष असर चलचित्रको व्यावसायिक प्रदर्शनमा पर्नेछ ।

नेपाली चलचित्रलाई आफ्नै बजारमा अवसर कहिले ?

नेपाली चलचित्र उद्योगको विकासका लागि स्वदेशी चलचित्रले आफ्नै बजारमा उचित प्रदर्शन अवसर पाउनु आवश्यक छ । विदेशी चलचित्रलाई रोक्नुपर्ने होइन, तर दर्शकको माग, चलचित्रको प्रदर्शन र व्यापारिक सम्भावनाका आधारमा शो वितरण पारदर्शी हुनुपर्ने चलचित्रकर्मीहरूको अपेक्षा छ ।

‘बाटुलो जून’ को शो वितरणलाई लिएर उठेको विवादले नेपाली चलचित्रको बजार, मल्टीप्लेक्सको व्यावसायिक नीति र स्वदेशी चलचित्रप्रतिको व्यवहारबारे फेरि बहस सिर्जना गरेको छ ।

दर्शकको साथ पाएको चलचित्रले पर्याप्त शो नपाउने र विदेशी चलचित्रले बढी पर्दा पाउने अवस्थालाई कसरी सन्तुलित बनाउने भन्ने प्रश्न अहिले नेपाली चलचित्र क्षेत्रसामु उभिएको छ ।