जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारमाथि प्रश्नैप्रश्न उठाउँदै जवाफ दिन चुनौती दिएका छन् । उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले मुलुकमा नयाँ बिचौलिया जन्माएको आरोपसमेत लगाएका छन् ।
बिहीबार रौतहटको गरुडामा राष्ट्रिय जागरण अभियानअन्तर्गत आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारको कार्यशैली, राज्यका निकायको अवस्था, भ्रष्टाचार, सुशासन र राष्ट्रियताका विषयमा प्रश्न उठाएका हुन् ।
हिजो रास्वपाले प्रश्न गर्दा आफूहरू जवाफ दिने ठाउँमा रहेको स्मरण गर्दै उनले अहिले सरकार र सत्तारुढ दलले जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए ।
‘हिजो रास्वपाले प्रश्न गर्दा हामी जवाफ दिने ठाउँमा थियौँ, आज हाम्रा प्रश्नको जवाफ रास्वपा र यो सरकारले दिनुपर्छ,’ पुनले भने ।
उनले किसानले खेती गर्ने समयमा मल नपाउनु, खाना पकाउने ग्यासको अभाव हुनु, नयाँ बिचौलियाको जन्म हुनु र राज्यका निकायमा विकृति बढ्नुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
नयाँ सरकारमाथि बिचौलिया जन्माएको आरोप
पुनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले पुरानो राजनीतिक अभ्यास अन्त्य गर्ने दाबी गरे पनि व्यवहारमा नयाँ बिचौलिया जन्माएको आरोप लगाए ।
बिचौलिया इनम सापकोटाहरूको उदय कसरी भयो भन्ने प्रश्न गर्दै उनले सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताए ।
उनले रास्वपाभित्र देखिएको शक्ति संघर्षको असर राज्यका निकायसम्म पुगेको दाबी गरे । न्यायालयभित्र गुटबन्दी, प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप र सञ्चार क्षेत्रमाथि दबाब बढेको उनको आरोप थियो ।
पुनले वर्तमान अवस्थामा देशको समग्र अवस्था विगतभन्दा कमजोर र भ्रष्ट बन्दै गएको टिप्पणीसमेत गरे ।
न्यायालयदेखि प्रहरी संगठनसम्म गुटबन्दीको आरोप
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहबीचको शक्ति संघर्षका कारण राज्यका निकाय प्रभावित भएको पुनको दाबी छ ।
उनले न्यायालयभित्र गुटबन्दीको राजनीति भइरहेको, प्रहरी संगठनलाई कारबाहीको डण्डा चलाएर पार्टीकरण गर्न खोजिएको र प्रशासनिक संयन्त्रलाई समेत त्रसित बनाइएको आरोप लगाए ।
‘न्यायालयमा गुटबन्दीको राजनीति भइरहेको छ, प्रहरीमा कारबाहीको डण्डा चलाएर पार्टीकरण गरिएको छ किन ? समाचार लेखेकै आधारमा राज्यको चौथो अंग पत्रकार पक्राउ र मिडिया हाउसमाथि प्रहरीले घेराउ गरेर मिडियाको मुख थुन्न खोजिएको छ किन ?’ उनले प्रश्न गरे ।
त्यस्तै, उद्योगी तथा व्यवसायीलाई धरपकड गर्नुको कारणबारे पनि उनले सरकारसँग जवाफ मागेका छन् । कर्मचारी प्रशासनलाई ३०–५१ को नाममा किन त्रसित बनाइएको भन्दै उनले प्रश्न उठाए ।
भारतसँग सरकार लम्पसार परेको पुनको आरोप
पूर्वअर्थमन्त्री पुनले राष्ट्रियताको विषयमा पनि सरकारमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै उनले सरकार भारतसँग झुकेको मात्र नभई लम्पसार परेको आरोप लगाए ।
उनले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षाका विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।
विदेश जाने युवाको संख्या बढेको भन्दै प्रश्न
निर्वाचनका क्रममा रास्वपाले विदेश जान बाध्य युवालाई स्वदेशमै रोजगारी दिने र विदेश गइसकेका नेपालीलाई समेत फर्काउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै पुनले अहिले विदेश जाने क्रम झन् बढेको टिप्पणी गरे ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने तथा नागरिकतासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि सरकारले काम गर्न नसकेको उनको आरोप थियो ।
त्यस्तै, बजारमा महँगी बढ्दै गएको उल्लेख गर्दै उनले जनताको दैनिक जीवनसँग जोडिएका समस्यामा सरकारको ध्यान नगएको बताए ।
भूकम्प र प्राकृतिक विपद्का पीडितको पुनःस्थापनामा ढिलाइ
पुनले भोटेकोसीलगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकले अझै पुनःस्थापनाको प्याकेज पाउन नसकेको विषय पनि उठाएका छन् ।
सुशासनको नारा दिएर सत्तामा पुगेको सरकारले आफ्नै सचिवालयतर्फ प्रश्न उठेपछि छानबिन प्रक्रिया नै रोकेको उनको आरोप थियो ।
सरकारले सुशासन, रोजगारी, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनले यी सबै प्रश्नको जवाफ रास्वपा र सरकारले दिनुपर्ने बताए ।
मधेशका नेता तथा कार्यकर्तालाई सरकारको कार्यशैली र गतिविधिविरुद्ध आवाज उठाउन आग्रह गर्दै पुनले राष्ट्रिय जागरण अभियानमार्फत सरकारका कामकारबाहीबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिएका थिए ।
सरकारले निर्वाचनका बेला गरेका प्रतिबद्धता र अहिलेको कार्यसम्पादनबीचको अन्तरबारे प्रश्न उठाउँदै आएका पुनको अभिव्यक्तिले सत्तापक्ष र प्रतिपक्षबीचको राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।

















प्रतिक्रिया