काठमाडौं । फिल्मको प्रचारका लागि निर्माण टिमले अनेक उपाय अपनाउने गर्छन्। तर, हास्यप्रधान फिल्म ‘ककाकिकी’को निर्माण टिमले भने दर्शक र सञ्चारकर्मीलाई नै झुक्याउने अनौठो प्रचार शैली अपनाएको छ। शनिबार आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अचानक प्रहरी प्रवेश गरेपछि हलमा केहीबेर खैलाबैला मच्चियो।
कार्यक्रम करिब एक घण्टादेखि चलिरहेको थियो। कार्यक्रमको अन्त्यतिर सञ्चालक तथा फिल्म पत्रकार गोपीकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्न सोध्न आग्रह गरिरहेका थिए। एक पत्रकारले प्रश्न राख्दै गर्दा अचानक ४–५ जनाको संख्यामा प्रहरी टोली हलभित्र प्रवेश गर्यो।
प्रहरीलाई देख्नेबित्तिकै कार्यक्रममा उपस्थित सञ्चारकर्मी र दर्शकहरू अचम्ममा परे। प्रहरीले कार्यक्रम तत्काल रोक्न निर्देशन दियो। त्यसपछि फिल्मका निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकारहरू मनोज गजुरेल, शिशिर वाङ्देललगायतलाई नियन्त्रणमा लिएजसरी बाहिर निस्कन भनियो।
प्रहरीले कलाकारहरूलाई हलबाट तल झारेर बाहिर तयारी अवस्थामा राखिएको प्रहरी भ्यानमा चढायो। केहीबेरअघिसम्म फिल्मको प्रचार र ट्रेलरबारे चर्चा भइरहेको हलमा एकाएक प्रहरीको प्रवेश भएपछि उपस्थित सबैले घटनालाई वास्तविक प्रहरी कारबाहीका रूपमा लिए।
कार्यक्रमस्थलमा मात्रै होइन, बाहिर रहेका सर्वसाधारणसमेत के भएको हो भन्दै अचम्ममा परे। कलाकारहरूलाई प्रहरीले पक्राउ गरेर लगेको दृश्यले सामाजिक सञ्जालमा समेत चर्चा पाउन थाल्यो।
तर, दृश्यमा देखिएजस्तो यो कुनै वास्तविक प्रहरी कारबाही थिएन। न त कलाकारहरूले कुनै अपराध गरेका थिए। यो त फिल्म ‘ककाकिकी’को प्रचारका लागि निर्माण टिमले तयार पारेको योजनाबद्ध प्रस्तुति थियो।
फिल्मको कथामा पनि पात्रहरूलाई प्रहरीले नियन्त्रणमा लिने दृश्य समावेश छ। निर्माण टिमले यही दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममै वास्तविक घटनाजस्तै प्रस्तुत गरेर फिल्मको प्रचार गर्ने रणनीति बनाएको थियो। त्यसैअनुसार प्रहरीको प्रवेश, कलाकारलाई नियन्त्रणमा लिने शैली र प्रहरी भ्यानमा राखेर लैजाने दृश्य प्रस्तुत गरिएको हो।
सामान्य ट्रेलर सार्वजनिक कार्यक्रमभन्दा फरक शैली अपनाउँदै निर्माण टिमले उपस्थित सञ्चारकर्मीलाई समेत केही समय वास्तविक घटनाकै आभास गराउन सफल भयो। फिल्मको कथालाई कार्यक्रमस्थलमै उतार्ने यो शैलीले ‘ककाकिकी’को प्रचारलाई थप चर्चामा ल्याएको छ।
पछिल्लो समय फिल्मको प्रचारका लागि फरक र सिर्जनात्मक शैली अपनाउने क्रम बढिरहेका बेला ‘ककाकिकी’को यो प्रचार रणनीति पनि चर्चाको विषय बनेको छ।
हास्यप्रधान विधामा निर्माण भएको फिल्म ‘ककाकिकी’ आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।



















प्रतिक्रिया