रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच मंसिर ८ गते उच्चस्तरीय छलफल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार बिहान चीनतर्फ प्रस्थान गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।

भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार भ्रमणलाई नेपाल र चीनका राजनीतिक दलबीच आपसी समझदारी तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको छ।

सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले भ्रमणका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट समान प्रकृतिका सुझाव प्राप्त भएको आचार्यले बताए।

‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधानमन्त्रीले राज्यले जे सोच्छ, त्यसमा ख्याल गर्नुहोला भन्नुभएको हो। भ्रमणको विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको समान खालको चासो र सुझाव आएका छन्,’ उनले भने।

आचार्यले भ्रमणका क्रममा चीनका राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङसँग भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पारे। यद्यपि बेइजिङमा सीपीसीका दोस्रो तहका नेताहरूसँग भेटवार्ता तथा विभिन्न विषयमा छलफल हुने उनले जानकारी दिए।

विशेषगरी प्रविधि, कनेक्टिभिटी र सीमापार सहकार्यका विषय भ्रमणको छलफलमा प्राथमिकतामा रहने उनको भनाइ छ।

यस्तो छ भ्रमणको कार्यतालिका

प्रतिनिधिमण्डल आइतबार चीनको सिचुवान प्रान्तस्थित चेङ्दु पुग्नेछ। भ्रमणको सुरुवाती चरणमा टोलीले सिचुवानस्थित हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्कको अवलोकन गर्नेछ। कात्तिक ३० गते सीपीसीको पार्टी स्कुलका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा महामन्त्री आचार्यले रास्वपाका तर्फबाट धारणा राख्नेछन्।

मंसिर १ गते प्रतिनिधिमण्डलले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेनचुआन क्षेत्रको भ्रमण गरी पुनर्निर्माणको अवस्थाबारे जानकारी लिनेछ। उक्त भूकम्पमा करिब ९० हजार मानिसले ज्यान गुमाएका थिए।

त्यसैगरी, मंसिर २ गते सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा टोली सहभागी हुनेछ।

मंसिर ६ गते झेजियाङ विश्वविद्यालयमा थिङ्क ट्याङ्क विकाससम्बन्धी गतिविधिको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। मंसिर ७ गते चीन–नेपाल इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्समा सहभागी भएपछि टोली बेइजिङ प्रस्थान गर्नेछ।

बेइजिङमा सोही दिन सीपीसीका उच्च तहका नेताहरूसँग भेटघाट तथा विज्ञहरूसँग विभिन्न विषयमा छलफल हुनेछ। मंसिर १० गते भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल स्वदेश फर्किने कार्यक्रम रहेको महामन्त्री आचार्यले जानकारी दिएका छन्।

रास्वपाले यस भ्रमणलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग राजनीतिक संवाद विस्तार गर्ने, विकासका अनुभवबाट सिक्ने तथा नेपाल–चीन सम्बन्धमा पार्टीगत सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको छ।