जलाकी’ले पायो युनिभर्सल सर्टिफिकेट


काठमाडौं । यही मंसिर ४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जलाकी’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । यो सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको हो । यो उनको दोस्रो निर्देशकीय सिनेमा हो ।

सिनेमामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूकै प्रेम कथा सिनेमाको मुख्य विषयवस्तु रहेको निर्देशक मगरले बताएका छन् । यो सिनेमा मगर समुदायको संस्कार र संस्कृतिमा आधारित छ । सिनेमाले मगर समुदायको संस्कार, संस्कृति र आस्थालाई प्रेम कथाको रूपमा प्रस्तुत गरिएको टिमको दाबी छ ।

सिनेमाको ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । साथै ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् ।

्
उपासना र सोनमसँगै सिनेमामा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।