एक्सन लभस्टोरी फिल्म ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु


काठमाडौं । एक्सन र प्रेमकथामा आधारित फिल्म ‘मोहनी’को छायाङ्कन आजदेखि चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्मको छायाङ्कन चितवनबाट सुरु गरिएको हो ।

मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन ६० दिनसम्म चल्ने निर्माता विजय ब्लोन तामाङले जानकारी दिए । उनका अनुसार चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिनेछ ।

‘कथाको मागअनुसार नै हामीले कलाकार छनोट गरेर फिल्मको छायाङ्कन आजदेखि सुरु गरेका छौँ । दर्शकसम्म एउटा राम्रो फिल्म पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ निर्माता विजयले भने ।

फिल्ममा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ ।

फिल्ममा महेश पौडेलको छायाङ्कन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ । त्यस्तै, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक र तेजबिक्रम केसी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् ।