‘सिन्दुरे जात्रा’मा सरोज, विजय र अञ्जनालाई ठूलो चुनौती, के दोहोरिएला पुरानो जादु ?


काठमाडौं – आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सिन्दुरे जात्रा’को चर्चा पछिल्लो समय बढ्दै गएको छ । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल र अभिनेता विजय बराल पुनः एकसाथ नयाँ फिल्ममार्फत दर्शकमाझ आउन लागेकाले पनि ‘सिन्दुरे जात्रा’लाई चासोका साथ हेरिएको छ ।

फिल्मको पहिलो गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको १० दिनमै युट्युबमा २८ लाखभन्दा बढी पटक हेरिएको छ । लोकलयमा आधारित गीतमा प्रशान्त सिवाकोटीको संगीत तथा सुरज गैरे ‘विवश’को शब्द रहेको छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतले प्रेममा रहेका जोडीको भावनालाई प्रस्तुत गरेको छ ।

स्मृति तिमिल्सिनाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विजय बराल र अञ्जना बराइली देखिएका छन् । उनीहरूले प्रेमिल भावमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोको अन्त्यमा विजयले लुकाएर अञ्जनालाई रुमाल उपहार दिएको दृश्यले उनीहरूबीच प्रेम अंकुराउँदै गरेको संकेत गर्छ ।

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलकै निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइलीसँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता नेम महर्जन हुन् ।

निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । फिल्ममा पदमबहादुर श्रेष्ठको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा रहेका छन् ।

‘सिन्दुरे जात्रा’को टिजर भोलि सार्वजनिक हुँदैछ । पहिलो गीतले युट्युबमा पाएको उत्साहजनक प्रतिक्रियापछि टिजरले पनि दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।