बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ खर्ब रुपैयाँ खिच्दै


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो । यसका लागि शुक्रबार दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल हुनेछ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन पाउनेछन् । निक्षेपको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि मंसिर १ गते पनि राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।