नेपाल–भारत आयुर्वेद र परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य गर्न सहमत


काठमाडौँ । नेपाल र भारतले आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकास र प्रवर्द्धनका लागि द्विपक्षीय सहकार्य गर्ने भएका छन् ।

यसका लागि दुवै देशबीच समझदारीपत्र (एमओयू) आदानप्रदान हुने भएको छ । समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र भारत सरकारको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले हस्ताक्षर तथा आदानप्रदान गर्ने तय भएको छ ।

समझदारीअनुसार दुवै देशका परम्परागत चिकित्सा प्रणालीको संरक्षण, वैज्ञानिक अनुसन्धान, प्राविधिक ज्ञानको आदानप्रदान तथा स्वास्थ्य सेवाको प्रवर्द्धनमा सहकार्य गरिने अपेक्षा गरिएको छ । यसले आयुर्वेदलगायत परम्परागत उपचार पद्धतिको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।