बालेन–मोदी भेटअघि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी छन् । बैठकअघि शाह र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

त्यसअघि भारतीय सेनाको टुकडीले प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गरेको थियो । मोदीले उनलाई न्यानो स्वागत गर्दै अंकमाल गरेका थिए । शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पणसमेत गरेका थिए ।

भ्रमणका क्रममा विभिन्न विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्बोधनको कार्यक्रम रहेको छ । त्यसपछि भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गरी प्रधानमन्त्री शाह आजै स्वदेश फर्कने कार्यक्रम छ ।