काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म र जनस्तरको आत्मीयतामा आधारित रहेको बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालबिना भारतका धार्मिक धाम र भगवान् रामसमेत अधुरा रहने बताएका हुन् ।
‘सन् २०१८ मा जनकपुरको पावन भूमिमा मैले भनेको थिएँ– नेपालबिना हाम्रा धाम अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्,’ उनले भने ।
मोदीले भगवान् राम र माता सीतालाई दुई देशको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा उल्लेख गर्दै ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाले अयोध्या र जनकपुरबीचको धार्मिक पर्यटनलाई थप सहज बनाउने बताए ।
उनले लुम्बिनी, बोधगया तथा दुवै देशका अन्य धार्मिक स्थलबीच सम्पर्क विस्तार गर्ने योजना पनि सुनाए । साथै, नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गर्दै पूर्वाधार, ऊर्जा, व्यापार, शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

















प्रतिक्रिया