कोरोनाको संक्रमण नफैलियोस भनेर पशुपती क्षेत्रविकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदिप ढकालका अनुसार, सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धाण गरिएको हो।
‘मलामीको संख्या २५ भन्दा बढी नल्याउन निर्देशन जारी गरिसकेका छौं,’ उनले भने, ‘ पहिलै बुक भइसकेका धेरै मानिस जम्मा हुने ठूला पुजाआजा कर्मकाण्डहरूसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइसकेका छौँ।’
पशुपती आर्यघाटको पारीपट्टी हुने आरतीसमेत बन्द गर्न भनेको उनले बताए। पशुपतिमा हरेकसाँझ आरती हुने गर्छ। जहाँ सयौँ मानिस आरती सुन्न आउँछन्।
पशुपतिमा हुने पुजाआजा र नगरि नहुने आरती भने नरोकिने उनले बताए। यी निर्देशन पालना गराउन कोषले कोषाध्याक्ष मिलन कुमार थापाको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ।
प्रतिक्रिया