कोरोना महामारीको कारण डलरको तुलनामा नेपाली रुपैंया हालसम्मकै कमजोर !


विश्व महामारी बनिरहेको कोभिड-१९ को महामारीले निम्त्याएको संकटका कारण नेपाली रुपैया हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।महामारीसँगै विश्व अर्थतन्त्रनै संकटमा पर्ने अनुमान भइरहेका बेला अमेरिकी डलरको तुलनामा नेपाली रुपैया हालसम्मकै कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । आजका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । यो दर हालसम्मकै उच्च हो ।

यसअघि यही चैत ११ मा सबैभन्दा बढी १ सय २२ रुपैयाँ ३४ पैसा विनिमय दर तोकिएको थियो । यसअघिको न्यून विनिमय दरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भई कमजोर भएको हो ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । अमेरिकी डलरसँग नेपालको विनियमय स्थिर गरिएका कारण अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा पनि भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

अहिले कोभिडको प्रभावका कारण भारु कमजोर भएकोले नेपाली मुद्राको स्थितिपनि खस्किएको हो । कोभिडको प्रभाव नेपाली मुद्रामा मात्रै परेको भने होइन विश्व व्यापार संगठनका अनुसार यो बर्ष विश्वभरीकै बजार नराम्रोसँग खस्कने देखिएको छ ।

संगठनका अनुसार यो बर्ष विश्व व्यापार १३ देखि ३२ प्रतिशत सम्म सिमित हुने छ । स्वास्थ्य महामारीको यो संकटले विश्व व्यापारमा अहिलेसम्मकै धेरै मन्दी ल्याउने पनि संगठनले बताएको छ ।