काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाली आईटी उत्पादन तथा गेमिङ उद्योगलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सहजता अपनाउने बताएका छन्।
नेपालमा विकसित आईटी उत्पादनले विश्व बजारमा राम्रो उपस्थिति जनाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रका विभिन्न उत्पादक तथा उद्यमीसँग छलफल गरेको जानकारी दिएका छन्।
उनका अनुसार नेपालमै निर्माण गरिएका लोकप्रिय लुडो गेम करिब २० करोड पटक र कल ब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन्। नेपाली प्राविधिक जनशक्तिको क्षमता र सम्भावना पुष्टि गर्ने यी सफलतालाई आधार बनाएर सरकारले गेम डेभलपमेन्ट क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने तयारी गरेको हो।
प्रधानमन्त्री शाहले यस क्षेत्रमा रहेका नीतिगत तथा प्रशासनिक अवरोध हटाउँदै नेपालबाटै विश्वस्तरका ‘ग्लोबल युनिकर्न’ कम्पनी जन्माउन अनुकूल वातावरण तयार पार्ने बताएका छन्।
उनले आईटी उत्पादन र निर्यातको सम्भावना बढ्दै गएको भन्दै कर प्रणालीमा सहजता, नीतिगत सुधार तथा अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी विद्यमान नियमलाई थप व्यावहारिक बनाउने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा आईटी क्षेत्रका उद्यमी र राष्ट्र बैंक एवं अर्थ मन्त्रालयबीच नियमित संवादका कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको उनले बताएका छन्।
सरकारको यो पहलले नेपाली युवा, स्टार्टअप तथा गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया