नागार्जुन नगरपालिकाद्वारा राहतस्वरुप वितरित तेलको म्याद नाघेको भेटिएको छ। नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेका व्यक्तिले म्याद नाघेको तेल भेटेपछि प्रहरीमा गुनासो गरेका थिए। महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लालध्वज सुवेदीले राहतका लागि वितरण गरिएको स्वस्तिक तेलमा मिति नाघेको पाएपछि अनुगमन गरिएको बताए।
अनुगमनका क्रममा नागार्जुन ४ बाफल सितापाइलाकाे न्यू बिके स्टोरले राहतको सामग्रीमा म्याद नाघेको तेल प्याकिङ गरेको पाइएको सुवेदीले बताए। प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेको २ सय लिटर तेल रहेको पुष्टि भएको हो।
विभागका निर्देशक रविन्द्र आचार्यले उक्त तेल वितरक स्टोरलाई उपभोक्ता संरक्षण ऐनअनुसार ३ लाख जरिवाना गरिएको बताए। विभाग र प्रहरीको संयुक्त टोलीले मिति सकिएको ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेको छ। यसैबीच विभागले अनुगमनको क्रममा कंलकी १४ एलआरआई स्कुल नजिकै रहेको चितवन खाद्य सप्लायर्समा समेत छापा मारेको छ। मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेको उक्त सप्लायर्समा लेवलिङ नभएको बस्तु भेटिएके, मूल्यसूची नभएको पाइएपछि दुई लाख जरिवाना गरिएको निर्देशक आचार्यले बताए।
प्रतिक्रिया