सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतले नेपाली भूमिमा बनाएको सडकका बारे तत्काल भारत सरकारसँग कुरा गर्नुपर्ने जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् ।
‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विवाद सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’
उनले सीमामा नियमन र व्यवस्थापन गर्न कसरी सकिन्छ भन्ने कुरामा जानै पर्ने अवस्था आएको बताए । सीमा स्तम्भ भत्काइदिने, सार्ने, नेपाली भूमि मिच्ने काममा सीमा सुरक्षा बल नै संलग्न भएका घटनाले सार्वभौम छिमेकी राष्ट्रप्रति भारतको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको नेता नेपालले बताए ।
आफ्नो देशको भूमिको रक्षा गर्ने सवालमा सबै नेपाली र राजनीतिक दलहरु एकजुट भएको बताउँदै नेपालले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग सरकारले कुरा गर्नुपर्ने बताए । ‘पूर्णतयारीका साथ, सबै खालका तथ्य तथ्यांकका साथ र उच्च मनोबलका साथ हामीले भारत सरकारसँग कुरा गर्नुपर्छ । यससँग जोडिएका विषयवस्तु भएको हुनाले चीन सरकारसँग पनि कुरा गर्नुपर्छ ।’
नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने र त्यसको उदघाटन गर्ने भारतको काम त्यो अत्यन्त दुःखद र आपत्तिजनक भएको बताए । ‘यसले नेपालको र भारतको बीचमा भएको सहमति र सम्झौताको पनि गम्भीर उल्लंघन गरेको छ । सँगसँगै सार्वभौमसत्ता माथि प्रहार भएको हामीले ठानेका छौं,’ नेता नेपालले भने ।
उनले थपे, ‘यो विवादलाई बसेर छलफल गर्न सकिन्छ । तथ्यको आधारमा गर्न सकिन्छ । यो डिस्प्युट कसरी समाधान गर्ने भन्ने उपायको खोजी गर्न सकिन्छ । तर डिस्प्युट छ भने त्यो ठाउँमा किन विवादित गतिविधि गर्ने ? यस कुरामा उहाँहरुले (भारतीय पक्षले) हामीलाई कन्भिन्स गर्नुपर्ने आवश्यकता छ ।’
प्रतिक्रिया