नेपालमा लकडाउन सुरु भएपछि प्रभावित भएको अर्को ब्यवसाय हवाई उडान पनि हो । नेपालमा कोरोनाको दोस्रो संक्रमित फेला परेपछि सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको हो । त्यस यता आन्तरिक र वाह्य हवाई उडान बन्द भएका छन् । वाह्य हवाई उडान चार्टर मात्र भएका छन् ।
विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन र नेपालमा रहेका विदेशी जान तथा स्वास्थ्य सामग्री ल्याउन मात्र हवाई उडान भएका छन् । अन्यथा सबै हवाई उडान बन्द हुँदा ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ ।लामो समय लाग्दै आएको प्रतिवन्ध हटाउँदै अब हवाई उडान सुचारु गराउने विषयमा मन्त्रालयले तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको जानकारी दिएका छन् । अन्तराष्ट्रिय उडानका लागि भने अगस्तको दोस्रो साता सम्म पर्खनु पर्ने छ ।
हवाई उडान बन्द भएपछि त्यसमा आश्रित कर्मचारीलाई कम्पनीहरुले विदामा बस्न आग्रह गरेका थिए । जसका कारण हजारौं कर्मचारी प्रभावित भएका छन् । आर्थिक संकट झेलेको हवाई सेवालाई सुचारु गर्ने विषयमा छिटै निर्णय हुने भट्टराईले बताएका छन् । तर साउन ६ गते नै भने प्रतिबन्ध खुलाउन नसक्ने उनले स्पष्ट पारेका छन् ।
मन्त्री भट्टराईका अनुसार साउन ६ गतेसम्मका लागि लगाइएको उडान प्रतिबन्ध केही समय थप भएर उडान खोल्ने देखिएको छ । यद्यपि, उडान खोल्ने वा प्रतिबन्ध लगाउने भन्ने विषयको टुङ्गो मन्त्रिपरिषदले लगाउनेछ । सम्भवतः विहीबार सार्वजनिक हुने मन्त्रिपरिषद्को निर्णयमा यस विषयको पनि सम्बोधन हुनेछ ।
प्रतिक्रिया