नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ। हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।रामनगर गाउँपालिका वडा नम्बर–४ स्थित बहुअर्वाका ६० वर्षीय रामजनम भनिने रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको छ । अदालतको आदेश नुसार नै वडाध्यक्ष महतोलाई गत शुक्रबार नै गौर कारागार चलान गरिएको छ ।नेता रामजलको गत असार ७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो ।
उनको हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।रामजलको हत्यापछि उनको परिवारले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोसहित ९ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी परेका मध्ये ८ जना अझै पनि फरार छन् ।नेता रामजलको हत्यापछि नेकपा र काँग्रेस एक–अर्का विरुद्ध पटक–पटक विरोध प्रदर्शन गर्दै आएका छन् ।
यसैक्रममा दुवै पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झडप हुँदा प्रहरीसहित करिब दुई दर्जन जति घाइते भएको थियो ।
प्रतिक्रिया