शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइतबार जारी विज्ञप्ति जारी गरी निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।
निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले आफ्नो माग पूरा नभएको भन्दै १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवीमा राख्ने घोषणा गरेका थिए । यद्यपि शिक्षक कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णय भने उनीहरूले आइतबार नै फिर्ता लिएका छन् ।सरोकारवालासँग छलफल गरेर निजी लगानीका विद्यालयका माग सम्बोधन गर्न आफूहरू तयार रहेको भन्दै मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।
मौद्रिक नीतिले विद्यालय सञ्चालकहरूको अधिकांश माग पुरा गरेको मन्त्रालयको दावी छ ।मौद्रिक नीतिमा शिक्षा लगायतका व्यवसायीले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानीको म्याद थप र कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्ने व्यवस्था गरिएको विषय पनि यस सन्दर्भमा स्मरणीय छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया