विवाहका २ वटा गाडीमा १५ जाना सहभागी हुदा पास नचाहिने अनुमति


निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा विवाह तथा ब्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी प्रयोग हुने सवारी साधनले अनुमति पास लिनु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा विवाह तथा ब्रतबन्धका लागि ब्यानरसहित दुई वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।

साथै ती कार्यक्रमका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने आदेशमा भनिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विवाह वा ब्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्किनुपर्ने भएमा चालकसहित बढीमा सातजनासम्मको लागि स्थानीय तहको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिन सकिनेछ ।

यस्तै मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित विषयको व्यहोरा खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवदेन पेश गर्न सकिने पनि आदेशमा उल्लेख छ ।