विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ ।
नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका-५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो । नेकपा विप्लवका दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताए । मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ ।
जिल्ला सदरमुकाम खलङ्गादेखि करिब दुई किलोमिटरको दूरीमा रहेको मन्त्री बडुको उक्त घरमा कोही पनि बस्दैनन् तर गृह जिल्ला आएका बेला भने उनी सुरक्षा तैनाथीका साथ उक्त घरमा बस्ने गरेका छन् । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बिहीबार दिउँसो खलंगामा नारा, जुलुससहित प्रर्दशनसमेत गरेको छ ।
प्रतिक्रिया