सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा बहुला कुकुरको बिगबिगी बढेको छ ।
बहुला कुकुरको टोकाइबाट विगत १ महिनायता जुबुमा ४ जना घाइते भएका छन् भने केही पुशु चौपायाको मृत्यु समेत भएको स्थानीय सुदिप बस्नेतले जानकारी दिए ।
उनका अनुसार कुकुरको टोकाइबाट जेठको पहिलो सातामा जुबुुकी दुर्गामाया नेपाली, जेठ २७ गते टेक बहादुर नेपाली तथा जेठकै २४ गते पेसल गुरुङ घाइते भएका थिए ।
यस्तै वडा नम्बर ५ की समिक्षा भुजेललाई जेठ २४ गते स्कुल जाँदै गर्दा कुकुरले टोकेर घाइते बनाएको उनले अनलाइन टिभीसँग बताए ।
खोप लगाए पश्चात घाइते भएकाहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
विभिन्न गन्तव्यमा हिंडेका पैदलयात्रीलाई बौलाह कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिक त्रसित भएका हुन् ।
कुकुरले टोकेका व्यक्तिको स्वास्थ्य चौकी जुबुमा उपचार सम्भव नभएपछि उपचारका लागि ऐसेलुखर्क प्राथमिक अस्पतालमा रेफर गरिँदै आएको छ ।
स्वास्थ्य चौकी जुबुमा रेविज विरुद्धको खोप नभएकाले रेफर गर्नुको विकल्प छैन । बौलाह कुकुरको बिगबिगी बढेपछि घरबाहिर निस्कन समस्या परेको स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया