सम्झौता अवधि सकिनु ३ महिना अगाडि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने पक्की पुल निर्माण निर्धारित समयभन्दा तीन महिना अगाडि सम्पन्न भएको हो ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत २०७६ असोज २७ गते सो पुल निर्माणका लागि ललितपुरको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । २१५ मिटर लम्बाइको सो पुल निर्माणका लागि २०७६ असोजबाटै काम सुरु गरिएको थियो भने प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ मंसिरमा शिलान्यास गरेका थिए ।
निर्माण कम्पनीले सो पुल र पुलसम्म पुग्ने ७ सय मिटरको एप्रोच सडक २०७९ असार २४ गते सम्पन्न गरेर मन्त्रालयलाई हस्तान्तरण गरेको हो । कुल ३२ करोड ८८ लाख २९ हजारमा निर्माण सम्पन्न हुने अनुमान गरिएको ४ स्पानको ११ मिटर चौडाईको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि राजु बिडारीले पुल निर्माण अझ छिट्टै सक्ने योजना रहे पनि पर्सा राष्ट्रिय निकुञ्जका कारण समस्या व्यहोर्नु परेको बताए । निकुञ्जसँगको सम्न्वयमा केही समस्या सिर्जना हुँदा पुल निर्माणमा केही समय बढी लागेको उनले बताए ।
‘निकुञ्जसँगको केही समस्याका कारण पुल निर्माण कार्यमा योजना अनुसार सम्पन्न गर्न समस्या भयो । निकुञ्जसँगको समन्वयमा समय खर्चनु नपरेको भए हामी अझै छिटो निर्माण गर्न सक्थ्यौँ’, उनले भने ।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डा। सहदेव भण्डारीका अनुसार पुल २०७९ असोज २६ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई पुरस्कृत गरिने उनले बताए ।
प्रतिक्रिया