दोहोरी गायिका सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सक्यो


लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ ।

प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

गायिका सुनार ११ असारमा नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धान अधिकृतहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै संकेत देखिएको थिएन । तर राति कोठामा सँगै रहेका प्रेमी गोठाटारका सूर्य श्रेष्ठ फरार रहेको खुलेपछि घटना शंकास्पद बनेको थियो ।

प्रहरी नियन्त्रणमा पुगेपछि उनले सुरुमा झुठो बयान दिएका थिए । पछि राति सँगै सुतेको सुनारलाई बिहान झुण्डिरहेको अवस्थामा देखेपछि निकालेको उनले बयान दिएका थिए ।