नेपाल आयल निगमलाई १ साउनमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र डिजेलको नयाँ मूल्य प्राप्त भयो । जसअनुसार पेट्रोल र डिजेलको प्रतिलिटर मूल्य क्रमशः १५ रुपैयाँ ६० पैसा र १६ रुपैयाँले घटेको निगमले विज्ञप्ति नै निकालेर जनाएको छ । निगमले आफ्नो घाटाका कारण तत्काल उपभोक्ता मूल्य नघटाउने पनि सोही विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
आईओसीबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि सरकारसँग हिसाब नमिलेको बहाना बनाएर निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य घटाएको छैन । जसका कारण इन्धनको मूल्य बढ्दा महँगीले डामिएका उपभोक्ता मूल्य घट्दा समेत तत्काल राहत पाउनबाट बञ्चित भएका छन् ।
निगमको दाबीअनुसार उसलाई अझै लागत मूल्य पेट्रोलमा १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पनि निगम घाटामा भएका कारण तत्काल मूल्य घटाउन नसकिने बताए ।
प्रतिक्रिया