हेर्दा अत्यन्तै रमणीय छ कनका सुन्दरीगाउँपालिका-२ मा रहेको मालिका बोतागाउँको नौमुले तिर्थस्थल । गाउँको शीरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकास अभावमा भने ओझेलमा छ । नौ वटा धारा ‘नौमुले’ नामले समेत परिचित तीर्थस्थल कनका सुन्दरीगाउँपालिका-२ मा रहेको रोथ भन्ने स्थानमा छ ।
पूर्व वडाध्यक्ष शेरबहादुर रावतले पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षणमा केही काम भए पनि पर्याप्त नभएको बताए । उनले वडा अध्यक्ष हुँदा केही भवन र धारा व्यवस्थित बनाएको बताए । उनले भने, प्रकृतिको अपार सुन्दरताले भरीपूर्ण रोथ चौर र नौमुले तीर्थस्थल पुग्ने जो कोही यहाँको सुन्दरतामा रुमलिन पुग्छ।
नौमुलेका नौ धारा, रोथचौरमा बग्दै गरेको पानीले पर्यटकलाई लोभ्याउँछ नै । वर्षायाममा यसको पानीको बहाव बढ्दै जाँदा यो क्षेत्रलाई नदीले घेरेको सुन्दर दृश्य देखिन्छ ।
मालिकाबोताका ७० वर्षीय आकासी रावत नौमुले यस क्षेत्रकै तीर्थस्थल भएको बताउँछन् । उनी भन्छन्, यो मन्दिरको नाम पहिले रुपाभवानी थियो । माथीपट्टी रोथचौर थियो त्यस कारण रुपाभवानी नाम राखिएको हो । अहिले त्यो मन्दिरको नाम परिमार्जन गरेर नौमुले तीर्थस्थल राखिएको छ ।
उनका अनुसर त्यो नौमुले तिर्थस्थलमा रक्सी छुटाउन, भाकल गर्न जाने गरेको उनी बताउँछन् ।
स्थानीय सुरबहादुर रावतले यहाँ मन्दिर मात्रै नभएर अरू पर्यटकीय स्थल पनि रहेको बताए ।उनले भने, यहाँका गुफामा कसैको ध्यान गएको छैन । मालिकाबोतागाउँको आसपासमा रहेको गुफा र धार्मिक तथा पर्यटकीयस्थलको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिए यो क्षेत्र साँच्चिकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्ने थियो ।
पर्यटकीय क्षेत्रको रुपमा विकास भए सयौंको संख्यामा पर्यटकको आवागमन हुने अपेक्षा वडाध्यक्ष खम्मा रावतको छ । उनले भने, उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा यहाँका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थल ओझेलमा परेका छन् ।
उनका अनुसार नौमुलेमा माता तीर्थ औंसी, कुशे औंसी, पुसे औंसी, बालाचतुर्दशी, शिवरात्री लगायतमा पुजापठ हुने गर्छ ।
प्रतिक्रिया