काठमाडौं– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनले बागमती नगरपालिकाको वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । यस्तै उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखाका प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ । यसअघि बागमतीको मेयरको पहिलो कार्यकालको समयमा थापाले अवैधानिक तरिकाले पैसा कमाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ । कुल आय तथा लगानी र खर्चबीचको तालमेल नमिलेपछि ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि उनी मेयर पदबाट स्वत निलम्बनमा परेका थिए ।
प्रतिक्रिया