केन्यामा आठ महिलाको शव टुक्रा टुक्रा पारेर डम्पसाइटमा फालेको अवस्थामा फेला


एजेन्सी– पूर्वी अफ्रिकन राज्य केन्यामा विभत्स अवस्थामा आठ महिलाको शव फेला परेको छ । नैरोबीको सुकुमबासी बस्तीमा रहेको फोहोर फाल्ने डम्पसाइटबाट आठजना महिलाको शव फेला परेको हो। ती महिलाका शरिरका अंगहरुलाई टुक्रा टुक्रा बनाएर बोरामा राखेर नाइलनको डोरीले बाँधिएको छ। ती महिलाहरुको शव कुहिएको अवस्थामा फेला परेको छ ।

शुक्रबार उक्त क्षेत्रमा ६ जनाको शव फेला परेको थियो र शनिबार थप दुई महिलाको गरि आठ शव फेला परेको जनाइएको छ । केन्याका कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । उनले भने, ‘तिनीहरूलाई टुक्राटुक्रा पारिएको, सडेको जस्ता विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।’

उनले भने, ‘म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ ।’ कान्जाले अनुसन्धानमा सहयोगका निम्ति आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याएने बताए ।

बोरामामा बेरिएका र नायलन डोरीले बाँधिएको ती शवहरूलाई मार्नुअघि निकै यातना दिएको र रेटिएका डामहरु प्रष्ट देखिन सक्ने अवस्था रहेको छ । उक्त डम्पसाइट प्रहरी चौकीबाट १०० मिटरभन्दा कम दूरीमा रहेको उल्लेख छ।

सो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कतिपयले उनीहरुलाई नारीहत्याको शिकार भएको बताएका छन् । यस्तै केन्याका राष्ट्रपति
विलियम रुटोले कुनै पनि केन्यालीले विनाकारण आफ्नो ज्यान गुमाउनु नपर्ने बताएका छन् । रहस्यमय हत्यामा संलग्न व्यक्तिहरूलाई जवाफदेही बनाइने उनले बताएका छन् ।