काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको बहुप्रतिक्षित चलचित्र ‘ह्रस्व–दीर्घ’ को प्रदर्शन स्थगित भएको छ । यहि असोज ३ गते प्रदर्शन मिति तोकेर निर्माण भइरहेको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिइएको छ ।
यो फिल्म अर्को सूचना नआएसम्मको लागि स्थगित भएको नीता र हरिहरले सूचनामार्फत संयुक्त रुपमा जानकारी दिएका हुन् । नेपालीसँगै वलिउड र दक्षिण भारतीय चलचित्रका कलाकार र प्राविधिक जोडेर ठूलो बजेटमा उक्त फिल्म निर्माण भइरहेको छ । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुने जनाइएको छ ।
सूचनामा भनिएको छ, ‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं । ‘वितरण कम्पनिहरूसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नेछौं ।’
चन्द्र पन्तको डेब्यू निर्देशन रहेको सिनेमामा नीता, हरिहर, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कaलाकारको अभिनय रहेको छ । भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्माले नेपालमा आएर फिल्मको छायाङ्कन गरेर फर्किसकेका छन् ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
केहिदिन अघि फिल्मको पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक भएको थियो । निता र हरिहरको नृत्य तथा दुर्गेश थापाको स्वरमा रहेको उक्त गीतहरुलाई दर्शकहरुको राम्रो साथसमेत मिलिरहेको छ ।
हेर्नुहोस् गीत
प्रतिक्रिया