काठमाडौं– जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको नयाँ मिति घोषणा गरेको छ । अब यो फिल्म कात्तिक ३० गते प्रदर्शन हुनेछ ।
यसअघि फिल्मको प्राविधिक काम नसकिएको जनाउँदै पूर्वनिर्धारित रिलिज स्थगित गरिएको थियो । आज नीता ढुङ्गाना र हरिहर अधिकारीले संयुक्त रुपमा फिल्म कात्तिक ३० मा प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
फिल्मको हाल भारतको मुम्बईमा सम्पादन कार्य भइरहेको जनाइएको छ । नेपालीसँगै वलिउड र दक्षिण भारतीय चलचित्रका कलाकार र प्राविधिक जोडेर ठूलो बजेटमा उक्त फिल्म निर्माण भइरहेको छ । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुने जनाइएको छ ।
चन्द्र पन्तको डेब्यू निर्देशन रहेको सिनेमामा नीता, हरिहर, भारतीय अभिनेता प्रदीप रावत, सुनील वर्मा, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
हरिहरको कथा तथा प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
केहिदिन अघि फिल्मको पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक भएको थियो । निता र हरिहरको नृत्य तथा दुर्गेश थापाको स्वरमा रहेको उक्त गीतहरुलाई दर्शकहरुको राम्रो साथसमेत मिलिरहेको छ ।
प्रतिक्रिया