काठमाडौं– पछिल्लो तीन सातादेखि अमेरिकामा बेपत्ता भएकी नर्स ममता काफ्ले भट्टको हत्या भएको आशंका गरिएको छ । उनको हत्याको आरोप उनकै श्रीमान नरेश भट्टमाथि लागेको छ।
बिहिबार भर्जिनिया प्रहरीले श्रीमती हत्याको आरोपमा नरेशलाई पक्राउ गरेको थियो । उनलाई शुक्रबार अदालत उपस्थित गराइएको थियो। अदालतमा उपस्थित गराइएको उनीमाथि ममताको हत्या गरी लास लुकाएको अभियोग लगाइएको छ ।
अदालतमा ममताको हत्या नरेशले नै गरेको इशारा गर्ने विभिन्न सुराकहरू समेत रहेको बताइएको त्यहाँको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ। नरेशले ३० जुलाईमा घरभित्रै ममताको हत्या गरेको र हत्यापछि लास घिसार्दै बाहिर ल्याएको अभियोजकहरूले अदालतमा बताएका छन्।
नरेशलाई पक्राउ गर्नुअघि बुधबार प्रहरीले उनीहरु बस्ने घरमा खानतलासी लिएको थियो । त्यस क्रममा नरेशले कुनै सहयोग गरेको प्रहरीका एक अधिकारीले बताएका थिए । खानतलासीको क्रममा उनीहरुको मास्टर बेडरूममा रगतको धब्बाहरू देखिएको थियो , मास्टर बाथरूम र त्यहाँ रहेको बाथटबमा पनि रगत देखिएको प्रहरीले बताएको छ।
नरेश जुलाई ३० मा चान्टिली वालमार्टमा देखिएका थिए । मार्टबाट उनले तीनवटा चक्कु किनेका थिए । त्यसको भोलीपल्ट अर्थात् ३१ जुलाईमा उनी लाउन्डन काउन्टी वालमार्टमा देखिएका थिए । त्यहाँबाट उनले सरसफाइका लागि आवश्यक सामग्री किनेको भेटिएको अभियोगकर्ताले बताएका छन्। नरेशले किनेका तीनवटा चक्कु मध्ये दुईवटा अझै भेटिएको छैन ।
घरको खानतलासीका क्रममा खिचिएको नरेशको घरभित्रको छरपस्ट, अव्यवस्थित र अराजक दृश्यसहितका फोटोहरू पनि अदालतसमक्ष प्रस्तुत गरिएको थियो। घरभित्र रहेको एउटा सुटकेश भरी रहेको र ह्यांगरहरू खाली रहेको भेटिएका थिए।
नरेशले केहिदिनअघि मात्र आफ्नो टेस्ला गाडी बेचेका थिए । उनले मनासस पार्कमा रहेको आफ्नो घर पनि बेच्ने प्रयास गरिरहेको पाइएको छ । अदालतले नरेशलाई हाल प्रहरीकै हिरासतमा रहने आदेश दिएको छ । उनलाई धरौटीमा छाड्ने नछाड्ने निर्णय गर्न सोमबारको लागि सुनुवाईको मिति तोकिएको छ ।
काभ्रेपलाञ्चोकको पनौतीकी २८ वर्षीया ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पस अन्तर्गतको प्रिन्स विलियम अस्पतालमा नर्सको कार्यरत थिइन् । उनले एक वर्षअघि छोरीलाई जन्म दिएकी थिइन् ।
उनी अन्तिम पटक जुलाई ३१ अर्थात् साउन १६ गतेदेखि बेपत्ता भएको भन्दै भर्जिनियाको मनसास प्रहरीले खोजी कार्य अघि बढाएको थियो । एक वर्षीय छोरीलाई छाडेर आमा बेपत्ता हुनु संकास्पद भएको भन्दै प्रहरीले उनको खोजी तीब्र गरेको थियो ।
ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन्। उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमा आएको बताइएको थियो । त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए।
अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए। त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षकी छोरी मात्रै थिए। नरेशले ममता समयसमयमा घरबाट बेपत्ता हुने गरेको भन्दै प्रहरीलाई निवेदन दिन त्यतिबेला अस्वीकार गरेका थिए।
अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो।
ममताले ६ महिनाअघि सामाजिक सञ्जालको एक ग्रुपमा पोस्ट गर्दै श्रीमानसँग राम्रो सम्बन्ध नरहेको कुरा खुलाएकी थिइन्। उनले सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामको फेसबुक पेजमा आफू श्रीमानबाट अलग्गीन खोजेको बताएकी थिइन्।
उनले लखेकी थिइन्, ‘हाई म ६ महिने बच्चाकी आमा हो । म श्रीमानसँग अलग हुन खोजिरहेको छु । म हप्ताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो । मलाई सामाजिक कार्यकर्ताबाट सहयोग र केही सल्लाह चाहियो ।’
तर श्रीमानसँग अलत नभइकन नै उनी बेपत्ता भइन् । उनकी एक वर्षीया छोरीलाई भर्जिनियाकै एउटा सामाजिक संस्थाको जिम्मा लगाइएको छ। प्रहरीले उनी स्वस्थ र सामान्य रहेको बताएको छ। नेपालमा रहेका ममताकी आमालाई अमेरिकाले आकस्मिक भिसा दिएको छ । ममताकी आमा अमेरिका पुगेपछि मात्र उनलाई संस्थाले बालिकाको जिम्मा दिनेछ ।
प्रतिक्रिया