भोटेकोशी बाढी प्रभावितका लागि मिस्टर बिस्टले थाले राहत संकलन अभियान


काठमाडौं – विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन ‘मिस्टर बिस्ट’ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान सुरु गरेका छन् ।

अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितलाई सहयोग आवश्यक रहेको भन्दै विश्वभरका मानिसलाई अभियानमा जोडिन आग्रह गरेका छन् ।

उनले आफूहरूले नेपालका प्रभावितका लागि लाखौं डलरको राहत रकम संकलन गर्न अभियान सुरु गरेको बताएका छन् । संकलित रकम विपद् प्रभावितसम्म पुर्‍याउने उद्देश्य रहेको उनको भनाइ छ ।

मिस्टर बिस्टले नेपालका बाढी प्रभावितको आवाज विश्वसामु पुर्‍याउन आफूले पहल गरिरहेको समेत बताएका छन् । केही साताअघि नेपालमा भिडियो छायांकन गर्ने योजना रहे पनि भोटेकोशी बाढीका कारण उक्त योजना तत्कालका लागि स्थगित गरिएको उनले उल्लेख गरेका छन् ।

छायांकन योजना स्थगित भएपछि आफू राहत संकलन अभियानमा जुटेको उनले बताएका छन् । उनको परोपकारी संस्था ‘बिस्ट फिलान्थ्रोपी’ले सामाजिक परियोजना ‘केयर प्याकेज’ अन्तर्गत अभियानमा सहयोग गरिरहेको छ ।

मिस्टर बिस्टले सेयर गरेको लिंकमार्फत प्रभावितका लागि अत्यावश्यक राहत सामग्री जुटाइने जनाइएको छ । राहत सूचीमा अस्थायी आवास, सौर्य ऊर्जा, खाना पकाउने ग्यास तथा सामग्री, पिउने पानी, साबुन र महिनावारीका बेला आवश्यक पर्ने सामग्रीलगायत समावेश छन् ।

उनले प्रभावितका लागि आर्थिक सहयोग गर्न सकिने डोनेसन लिंकसमेत सार्वजनिक गरेका छन् ।

‘मिस्टर बिस्ट’ नामबाट चर्चित डोनाल्डसनको युट्युब च्यानल विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलमध्ये अग्रस्थानमा छ । उनको च्यानलमा ५१७ मिलियनभन्दा बढी सब्सक्राइबर रहेको उल्लेख छ ।