स्थानीय तहको सङ्ख्या पाँच सयभन्दा कम राख्न रविको प्रस्ताव

792
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको संख्या घटाउन प्रस्ताव गरेका छन् । उनले ७५३ स्थानीय तहबाट घटाएर ५०० मुनि राख्न प्रस्ताव गरेका हुन्।

रास्वपाको मंगलबारबाट सुरू भएको दुईदिने राष्ट्रिय भेलाको अन्तिम दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले त्यस्तो प्रस्ताव पेश गरेका हुन् ।

त्यस्तै उनले प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्।

‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ। साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सातवटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव राख्न चाहन्छु,’ उनले भने।

उनले यो बहस महाधिवेशनसम्म जारी राख्ने र त्यसपछि ठोसरूपमा अघि सार्ने पनि बताएका छन्।