धनराजले प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखियो: कुम्भराज गुरुङ

1.4k
Shares

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफ्नो प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखिएको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आरोप लगाएका छन् ।

संसदीय छानबिन समितिसँगको बयानमा उनले धनराजकी पत्नी तत्कालीन सञ्चालक ज्योति गुरुङले रकम अपचलन गरेपछि सहकारी संकटमा पुगेको बताएका हुन् ।

बयानमा कुम्भराजले भनेका छन्, ‘संस्था समस्यामा पर्नुको कारण प्रवाह भएको ऋण असुल गर्न नसकेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्नु हो । साथै बचतकर्ताको ठूलो रकम दुरुपयोग पनि भएको थियो । संस्थाको महाप्रवन्धक ज्योति गुरुङलाई संस्था सञ्चालन गर्न सम्पूर्ण जिम्मेवारी दिइएको थियो । उहाँले १२ करोड ५० लाख रकम हिनामिना गरेको देखिन्छ, जुन रकम ब्याजसमेत गरेर १४ करोड ३१ लाख पुगेको छ ।’

उनले अहिले सहकारीमा भएको समस्यापनि समाधान गर्न सकिने बताएका छन् । उनले बयानका क्रममा भनेका छन्, ‘ऋण, जोखिम कर्जा उठाउन सकियो र ज्योति गुरुङबाट अपचलन भएको रकम फिर्ता लिन सकियो भने समस्या समाधान गर्न सकिन्छ । संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, तर पूरा भएन । हाल ज्योति गुरुङ कहाँ हुनुहुन्छ, मेरो जानकारीमा छैन ।’

यो सहकारीको रकम अपचलनको विषयमा समितिले छानबिन गर्न सिफारिस गरेको छ । यस सम्बन्धमा सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।