काठमाडौं– अहिले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा अहिले घाम लागिरहेको छ । दिउँसोसम्म घाम लागे पनि अपराह्नपछि भने आंशिक बादल लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै भोली (मंगलबार) अपराह्नदेखि कोशी प्रदेशलगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको सम्भावना छ । भोली कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।
यस्तै आगामी बुधबारदेखि शनिबारसम्म कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू– .भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
यो समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको सम्भावना खासै नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि बिहिबारदेखि शनिबारसम्म देशभरिका अधिकांश क्षेत्रमा अविरल वर्षा भएको थियो । यसको सबैभन्दा धेरै असर काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा देखिएको थियो । भारी वर्षाले बागमती प्रदेशमा ठुलो जनधनको क्षतिसमेत देखिएको छ ।
बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने ४१ जना अझै बेपत्ता छन् । ४५ जना घाइते भएका छन् उनीहरुको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । यस्तै तीन हजार ६५४ जनालाई सकुशल उद्धार गरिएको छ ।
प्रतिक्रिया