काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका डीआईजीलाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ। प्रहरीका उच्च अधिकारीहरूलाई एकैपटक नक्सालस्थित प्रधान कार्यालयमा बोलाइएपछि प्रहरी नेतृत्वमा फेरबदल हुन सक्ने चर्चा चुलिएको छ।
प्राप्त जानकारीअनुसार कोशी प्रदेशका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन्। मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी पनि कार्यालयको कामको सिलसिलामा केही दिनदेखि काठमाडौंमा रहेको बताइएको छ।
त्यस्तै, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनीका डीआईजी भूपेन्द्रबहादुर खत्री, कर्णालीका डीआईजी जयराज सापकोटा र सुदूरपश्चिमका डीआईजी सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेको जानकारी प्राप्त भएको छ।
सरकारले प्रहरी प्रमुखसहित केही उच्च अधिकारीलाई पदमुक्त गर्न सक्ने चर्चा चलिरहेका बेला प्रदेशका डीआईजीहरूलाई प्रधान कार्यालयमा बोलाइएको हो। तर, उनीहरूलाई बोलाउनुको आधिकारिक कारण र प्रहरी नेतृत्वमा हुने भनिएको सम्भावित फेरबदलसम्बन्धी निर्णयबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।

















प्रतिक्रिया