चिसोको समस्या बढ्दै गएपछि, सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था


काठमाडौँ- सल्लेरी बजार क्षेत्रमा चिसोको समस्या बढ्दै गएपछि, स्थानीय प्रहरी र प्रशासनले सर्वसाधारणलाई चिसोबाट जोगाउन विशेष पहल गरेका छन्। जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार, आजदेखि सल्लेरीका विभिन्न स्थानहरूमा आगो ताप्ने व्यवस्था मिलाइएको छ। यस प्रयासका क्रममा, प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले चिसोबाट बालबालिका, वृद्धवृद्धा र कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायमा सचेतना अभिवृद्धि गर्नका लागि आगो ताप्ने स्थानहरूको व्यवस्था गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार, चिसोको असरले यहाँका नागरिकको दैनिकी कष्टकर भएको छ, र त्यसैले चिसोबाट बच्नका लागि आगो ताप्ने स्थानहरूको व्यवस्था गरिएको हो। डिभिजन वन कार्यालयसँगको समन्वयमा, सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख स्थानहरूमा आगो ताप्ने स्थान तयार पारिएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पनि यस कार्यको निरन्तरता रहने र सुरक्षित स्थानहरूमा आगो ताप्ने व्यवस्था मिलाइने बताएका छन्।