दाङमा २५ केजी चरेशसहित तीन जनालाई पक्राउ


काठमाडौँ– दाङको घोराहीबाट २५ केजी चरेशसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्तिहरू प्यूठान र रोल्पाका रहेका छन्। प्यूठानको स्वर्गद्धारी नगरपालिका–२ का निमबहादुर आले ९३९ वर्ष० र नौंबहिनी गाउँपालिका–२ की देउकली बुढा मगर ९२१ वर्ष०, साथै रोल्पाको त्रिवेणी गाउँपालिका–७ का प्रकाश घर्ती मगर २९ वर्ष पक्राउ परेका छन्।

सुराकका आधारमा दाङको प्रहरी टोलीले डिएसपी ईश्वर थापाको नेतृत्वमा बुधबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका–१३ स्थित सिर्जनशील टोलका स्थानीय कुलबहादुर बस्नेतको घरमा छापा मारेको हो। पक्राउ परेकाहरू त्यस घरको तल्लो फ्लाइटमा भाडामा बस्दै आएका थिए।

निमबहादुर आले र देउकली बुढा मगरको भान्सा कोठामा प्लाष्टिक ड्रममा प्लाष्टिकका पोकामा चरेश राखिएको अवस्थामा २४ किलो ७९० ग्राम चरेश बरामद भएको डिएसपी थापाले बताए। प्रकाश घर्ती मगर भने छुट्टै कोठामा भाडामा बस्दै थिए।

यसको कारोबारमा संलग्न थप एक जना महिलाको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। पक्राउ परेकाहरू आपसमा नातासम्बन्ध भएका व्यक्तिहरू रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।