रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउँदै, प्रवक्ता भन्छन्- सबैलाई हवाइ टिकट पाइएन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अब स्थलमार्ग हुँदै काठमाडौं फर्कने भएका छन्। पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार, लामिछाने बिहान १० बजे नै पोखराबाट स्थलमार्गमार्फत काठमाडौंको लागि प्रस्थान गरेका छन्।

प्रवक्ता झाले अनलाइखबरसँग भने, “उहाँ अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी स्थलमार्गको यात्रा गर्दै हुनुहुन्छ।”

यद्यपि, रवि लामिछाने हवाइ मार्गबाटै काठमाडौं जाने तयारीमा थिए, तर ठूलो नेता र कार्यकर्ताको समूहसँगको यात्राका कारण उनले स्थलमार्गलाई प्राथमिकता दिएका छन्। झाले सभापति लामिछानेको भनाइ उद्धृत गर्दै भने, “धेरै ठूलो समूह भयो, गाडीमै जाऔं म पनि सँगै जान्छु भन्नुभयो। यत्रो दिनको साथ पाएँ, अब म छुटेँ, तपाईंहरू चाहिँ बस्नुस् भनेका हुनुहुन्छ।”

लामिछानेसँगै मनीष झा र अन्य केही नेताहरू भने म्याग्दी, पर्वत र अन्य जिल्लामा आयोजित कार्यक्रमका लागि रोकिएका छन्।

रवि लामिछाने गत २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए र कास्की प्रहरीले उनलाई सूर्यदर्शन सहकारीसँग सम्बन्धित मुद्दामा अनुसन्धान गर्नका लागि हिरासतमा राखेको थियो। कास्की जिल्ला अदालतले हिजो, बिहीबार उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेश प्राप्त भएलगत्तै, लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए र उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मामा छोडिएको थियो।